प्रदेश प्रमुखको शपथ सम्पन्न

२०७६ कार्तिक १९ गते, मंगलवार

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । सोमबार बालुवाटारमा बसेको प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको थियो ।
त्यसपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । नियुक्त भएका प्रदेश प्रमुखमा सोमनाथ अधिकारी प्यासी — प्रदेश १, तिलक परियार—प्रदेश २, विष्णु प्रसाईं—प्रदेश ३, अमिक शेरचन—गण्डकी प्रदेश, धर्मनाथ यादव—प्रदेश ५, गोविन्द कनौली —कर्णाली प्रदेश र शर्मिलादेवी पन्त सुदूर पश्चिम प्रदेश रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]