नेमकिपाद्वारा नेपाली भूभाग अतिक्रमणविरूद्ध विरोध र्याली
काठमाडौं, २० कात्तिक । नेपाल मजदुर किसान पार्टीले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा आज भक्तपुरमा विरोध र्याली निकालेको छ । सो पार्टीले भारतले सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि विराेध र्याली निकालेको हो ।
सुर्यबिनायक चोकमा भएको आमसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको भूमि अतिक्रमण गर्दा पनि नेपाल सरकार केही नबोलेको भन्दै विरोध जनाए । उनले भने , ‘१९६१मा नेपाल र चिनको भएको सम्झौतामा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको होइन भनेर उल्लेख नभएको हाम्रै भएको प्रमाण छ । ‘ कमलबिनायकबाट सुरु भएको र्याली सुर्यबिनायक पुगेर आमसभामा परिणत भएको थियो । आफ्नो भूभाग अतिक्रमण गर्दा पनि नेपाल सरकार चुपलागेर बसेको भन्दै सरकारलाई सचेत गर्न र्याली निकालेको सुवालले बताए ।