काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित

२०७६ पुष ३ गते, बिहीबार

काठमाडौं , ३ पुष । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो । एजेन्डामा सहमति नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ । असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्ने संकेत दिएपछि सभापति शेरबहादुर देउवाले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बैठक स्थगनसँगै संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहर आन्तरिक छलफल र गुट बैठकमा व्यस्त भएका छन् । यसैबीच, देउवा निवास बुढानीलकण्ठमा पनि संस्थापन पक्षको अनौपचारिक छलफल भएको छ ।
त्यसैगरी असन्तुष्ट समूहको बैठक असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बसेको छ । छलफलमा प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला लगायतको सहभागिता छ । पौडेल र सिटौला पक्षले निरन्तर असहयोग गरेको भन्दै संस्थापन पक्ष पेलेर जाने रणनीति बनाएपछि देउवालाई दबाब दिन असन्तुष्ट पक्ष आन्तरिक छलफलमा जुटेको छ । सभापति देउवाले मंसिर २६ गते केन्द्रीय समिति बोलाए पनि अहिलेसम्म बैठक एजेन्डमा प्रवेश गर्न सकेको छैन । महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन । पौडेल पक्षले उठाएको महाविधेशनको कार्यतालिका सम्बोधन गर्न संस्थापन पक्ष तयार भए पनि भागवण्डामा अन्तिम सहमति हुन बाँकी छ । संस्थापन पक्षले ६० प्रतिशत आफ्नो समूहलाई छुट्याएर ४० प्रतिशत पौडेल समूहलाई दिने तयारी गरेको छ । ६० प्रतिशतमा देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षलाई समेत समेट्ने बताइएको छ । बैठक पुस ४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]