महानिरीक्षक खनालको चीन भ्रमण अस्वीकृत
काठमाडाैँ, १० पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले खनालको चीन भ्रमण अस्वीकृत गरेको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्तावलाई अस्विकृत गरेको हो । आईजीपी खनालको ठाउँमा प्रहरीका एक डीआईजीलाई पठाउने निर्णय भएको बताइएको छ।
आईजीपी खनालको भ्रमण प्रस्ताव रद्द गरीनुको कारण नखुलाइएपनि एउटै टिममा जाने भनिएका गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायतको भ्रमण भने बैठकले अनुमोदन गरेको छ । गृहमन्त्री थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।
यसअघि सरकारले अमेरिकाको सिकागोमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा जानका लागि अन्तिम तयारीमा रहेका खनालको भ्रमण अस्विकृत गरेको थियो ।