कांग्रेसका असन्तुष्ट पक्षको भेला

२०७६ पुष २१ गते, सोमबार

काठमाडौं , २१ पुष । नेपाली कांग्रेसका असन्तुष्ट पक्षको भेला सानेपामा सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको सो भेलामा वरिष्ठ नेता पौडेललगायत संस्थापनइतर पक्षका जिल्ला सभापतिहरु सहभागी भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको र आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् । वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह पक्षमा रहेका नेताहरुले भेला आह्वान गरेका थिए । भेलामा सहभागी हुन ४० जिल्लाका जिल्ला सभापतिहरू आइसकेकाे र केही आउने क्रम जारी रहेको कांग्रेस निकट स्रोतले बताएको छ । भेलाबाट जिल्ला सभापतिहरुसँग परामर्श गरेर पार्टी सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन खोजिएको पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट व्यक्तिले उल्लेख गरेका छन् । पटकपटक केन्द्रीय कार्य समिति बैठक बहिष्‍कार गर्दै आएको असन्तुष्ट पक्षले सभापति देउवाको दबाबमा गरिएका सबै निर्णय फिर्ता गरिनुपर्ने सर्त राख्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]