कुमार पौडेलको हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी

२०७६ माघ २४ गते, शुक्रबार

काठमाडौँ, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तात्कालिन जिल्ला इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरेर नौ वटा गोली हानि हत्या गरिएको प्रतिबेदन सार्वजनिक भए लगत्तै उनकी आमा दुर्गादेवी पौडेलले पौडेलको हत्यामा संलग्न रहेको आरोप लगाउंदै १० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छिन। अधिकारकर्मीहरु चरण प्रसाई, इन्द्र अर्याल, बद्री भुषालको समन्वयमा स्वर्गीय कुमारकी ७० वर्षीय आमा दुर्गादेवी पौडेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगेर बुधबार आफ्ना छोराको हत्याका आरोपीबिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिइएको उजुरीमा प्रदेश नम्बर २ का संघिय प्रहरी प्रमुख डिआईजी हरिबहादुर पाल, सर्लाहीका तात्कालिन सिडिओ कृष्णबहादुर राउत, तात्कालिन जिल्ला प्रहारी कार्यालय सर्लाही प्रमुख एसपी गोपाल भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक (सई) सुर्यबहादुर कार्की, जिल्ला अस्पताल सर्लाहीका डा. विरेन्द्रकुमार मण्डल र वागमती नगरपालिका प्रमुख भरतकुमार थापा लगायतका बिरुद्ध किटानी उजुरी परेको छ । त्यस्तै सो घटनामा प्रहरी प्रधान कार्यालय दरबन्दी भई नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको आदेशमा खटिएका तीन जना प्रहरीविरुद्ध पनि किटानी उजुरी परेको छ। आईजीपी खनालको आदेशमा खटिएका प्रहरी निरिक्षक कृष्णदेव साह (के.डी. साह) लाई सो हत्यामा मुख्य गोली प्रहारकर्ता सुटर भनि किटान गरिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत रही प्रहरी महानिरिक्षकद्वारा खटाइएका प्रहरी हवल्दारद्वय सत्यनारायण मिश्र र बिनोद साहबिरुद्ध पनि किटानी जाहेरी परेको छ।
नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तात्कालिन इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा छानबिन गर्न गठित समितिले पौडेललाई प्रहरी नियन्त्रणमा लिएर ९ गोली हानिएको र उनको बाँच्न पाउने अधिकार खोसिएको निष्कर्ष निकाल्दै घटनामा संलग्न पांच सुरक्षा अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो भने घटनाका दोषी सुरक्षाकर्मीबाहेक आयोगले निर्देशन दिने पदाधिकारीविरुद्ध पनि कारवाही गर्न भनेको थियो। आयोगको छानबिनले सर्लाहीका प्रनि कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्र घटनामा प्रत्यक्ष संलग्न र कमान्डरसमेत रहेको ठहरसहित तत्काल निलम्बन गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। प्रनि किरणप्रसाद न्यौपाने र सई सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण काम गरेकोमा सचेत गराउन सिफारिस गरिएको थियो। सुरक्षा निकायले गत असार ४ गते ‘इन्काउन्टर’ मा पौडेल मारिएको दाबी गर्दै आएको थियो।

प्रतिक्रियाहरु

[anycomment]