जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न
काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीले देशभर भब्य रुपमा जनयुद्ध दिवस मनाएको छ । यसैक्रममा सर्लाहीको पीपलदमारमा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ब्युरो सदस्य सचिन गोपालले सम्बोधन गरेका थिए भने सञ्चालन विकल्पले गरेका थिए । वक्ताहरूले महान् जनयुद्धका मूल्यमान्यताबाट स्खलित प्रतिक्रान्तिकारी, आत्मसमर्पणवादी र सुधारवादीहरूले जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लिलाममा बिक्री गरेको बताए । उनीहरूलाई एकीकृत जनक्रान्तिको सङ्ग्राामबाट खबरदारी गरिने पनि वक्ताहरूले बताए । महान् जनयुद्धमा बगेको रगत, पसिना र आँसुको अधुरो सपनालाई पूरा गरिछाड्ने दृढ प्रतिबद्धता सचिन गोपालले व्यक्त गरे ।
यसैगरी ,नेकपा डोटीले स्कुललाई खेल सामग्री वितरण गरी २५ औँ जनयुद्ध दिवस मनाएको छ । जिल्ला इन्चार्ज तर्कराजको अध्यक्षातामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सेती–महाकाली ब्युरो कार्यालय सचिव विपीन रहेका थिए । जिल्ला सचिव कालु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनता र अभिभावकको व्यापक उपस्थिति रहेको थियो । जनयुद्ध दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ब्युरो कार्यालय सचिव विपीनले देश र जनताको मुक्ति नहुन्जेलसम्म क्रान्ति जारी रहने बताए । जनता निराशामा रहेको, जनताको मुक्ति नभएको र जनयुद्धका सबै विषयमा प्रचण्ड–बाबुरामले धोका दिएकाले क्रान्ति जारी राख्नुपर्ने अवस्था आएको उनले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपलले नेपालमा भएको जनयुद्धले जनताको चेतनाको विकास भएको तर लक्ष्य पूरानहुँदै जनयुद्ध सामप्त गरेर नेतृत्वले धोका दिएको बताए । रातो टीका लगाई हर्षउल्लासका साथ सुरु गरिएको कार्यक्रममा ब्युरो कार्यलय सचिवले खेल सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा २५ औँ जनयुद्ध दिवसमा शुभकामना आदानप्रदान गर्दै महान् सहिदहरूप्रति श्रद्धाञ्जली सम्मान व्यक्त गरिएको थियो । कार्यक्रमको समापनमा जिल्ला इन्चार्ज तर्कराजले अहिलेको राज्यव्यवस्थाले देशलाई युद्धतिर धकेल्न खोजेको बताएका थिए । सत्ता र सरकारका दलालहहरूले भ्रष्टाचार, कालोबजारी, महँगी, करछली, सीमा अतिक्रमण, राष्ट्रघातका कारण देशलाई बरबाद बनाइरहेकाले यी सबै समस्याहरूका विरुद्ध लड्न उनले आमजनतालाई सचेत गराएका थिए । अमेरिकी परियोजना एमससी पास गराएर देशमा अमेरिकी सेनाको परेडस्थल बनाउन खोजिएकोमा उनले चिन्ता र आक्रोश व्यक्त गरे । यसका विरुद्ध आमनेपाली जनता एकजुट भएर क्रान्तिमा अघि बढ्नुपर्ने धारणा उनले राखेका थिए ।
यता ,बुटवलमा अखिल (क्रान्तिरकारी) ले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । यहाँका शैक्षिक संस्थाहरूमा अखिल (क्रान्तिकारी) ले शुभकामना आदानप्रदान, अन्तरसंवाद, प्रशिक्षण कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले बुटवल बहुमुखी क्याम्पस, लुम्बिनीलगायत क्याम्पसमा जनयुद्ध दिवस मनाएको छ । विद्यार्थीहरूले अबिर लगाएर एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरूले मिठाइ पनि बाँडेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो संयोजक वीरेन्द्र विकले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी अखिल (क्रान्तिकारी) कैलालीले पनि २५ औँ महान् जनयुद्ध दिवसका अवसरमा जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की, घोडाघोडी, अत्तरियालगायत विभिन्न ठाउँमा ब्यानर प्रदर्शनसहित शुभकामना आदानप्रदान गरेको छ । सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) कैलालीले विद्यार्थीलाई अबिर लगाएर मिठाइ तथा चकलेट वितरण गर्दै शुभकामना कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबरजङ सिंह, जिल्ला अध्यक्ष सुवास मजोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सरकारले विद्यार्थी नेता–कार्यकर्तामाथी थुपरेको झूट्टा मुद्दा खारेज गरी दमन, धरपकड र विद्यार्थीमाथिको प्रतिबन्ध तत्काल हटाएर सहज वातावरण बनाउन विद्यार्थी नेताहरूले आग्रह गरेका थिए ।