बंगलादेश सिदपुर विमानस्थल खुल्ला गर्न सहमत
काठमाडौं, ७ फागुन । नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच मंगलबार ढाकामा भएको द्विपक्षीय वार्तामा नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत भएको छ । नेपाली भ्रमण दलको नेतृत्व गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशका विदेशमन्त्रीबीच मंगलबार स्टेट गेष्ट हाउस पद्मामा भएको बैठकमा उक्त समझदारी भएको जनाइएको छ । ‘विमानस्थलको प्रयोग तथा उडान अवतरणबारे थप निर्णय प्राविधिक समितिले टुग्यांउने गरी सहमति भएको छ,’ बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोयनलाई उद्धृत गर्दै बंगालादेशी पत्रिका डेलिस्टारले लेखेको छ । परराष्ट्र मन्त्रालयले ढाकामा मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच विविध विषयमा छलफल र समझदारी भएको पुष्टि गरेको छ । बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको यो विमानस्थल सन् १९७९ मा सञ्चालनमा आएको थियो । तीनदिने भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली बुधबार काठमाडौं फर्किँदैछ ।