मजदुरलाई परिवार संख्या अनुसार राहत
काठमाडाैं, २० चैत । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड— २०७६’ जारी गर्दै दैनिक ज्यालादारी र विपन्न परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ। महानगरले राहत दिँदा अहिले टोलसुधार समिति वा अन्य संघसंस्थाले ज्याला मजदुर देखाएका परिवारलाई दिइने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। राहत प्याकेजमा परिवारमा एक जना मात्र व्यक्ति बस्नेरहेछ भने यसका लागि ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी हुनेछ।
परिवारमा दुईदेखि चार जनासम्म सदस्य भए १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी हुनेछ। कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरूका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारीको प्याकेट हुनेछ। यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्ने महानगरले जनाएको छ।
महानगरको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत तथा जायजात नभएका, अरूको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ। यस परिभाषाभित्र महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आ श्रम, वृद्धा श्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आ िश्रत व्यक्तिलाई पनि राखिएको छ। त्यस्तै, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी चलाउन मुस्किल पर्ने, सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ।
दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा दैनिक रूपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर भनिएको छ।