बिप्लवद्वारा सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको ठोकुवा : प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन

काठमाडौं , २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको ठोकुवा गरेका छन । महासचिव विप्लवले बुधबार वक्तव्य जारी गर्दै सरकारले आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह गरेका छन । साथै सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन समेत दिएका छन ।
महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् ।
महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरेको छ । पार्टी उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दछ र बिनासर्त मुक्त गर्न माग गर्दछ ।’