भारतीय हस्तक्षेपविरुद्ध मशाल जुलुस र मोदीको पुतलादहन
काठमाडाैं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले देशका बिभिन्न ठाउमा भारतीय हस्तक्षेपविरुद्ध मशाल जुलुस र मोदीको पुतलादहन गरेको छ । यसैक्रममा दोलखाको सदरमुकाम चरीकोटनजिक मकैबारीमा मशाल जुलुस निकाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरिएको छ । मशाल जुलुसमा भारतीय हस्तक्षेपविरुद्ध चर्को नाराबाजी गरिएको समाचारमा जनाइएको छ । कार्यक्रममा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवादविरुद्ध एक होऔँ, भारतीय साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाइएको थियो ।
मोदीको पुतलादहनपछि सोही ठाउँमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय सदस्य अजरले सरकार भ्रष्टाचार, लुटतन्त्र, बलात्कारकाण्ड, सुनकाण्ड, घूसकाण्ड, वाइडबडी काण्डजस्ता काण्डैकाण्डमा मुछिएको र देशको सीमा अतिक्रमण हुँदासम्म लाचार देखिएकाले पूरै असफल भएको बताए । कोरोनाका कारण देश आर्थिक रूपमा पूरै धराशायी भएकोमा ध्यान नदिएर सरकार कमिसनको खेलमा लागेको र धमिलो खोलामा माछा मार्न खोजेकाले सरकार मात्र नभई व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
यसगरी , नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन मेची–कोसी ब्युरोले झापालगायत ब्युरोअन्तर्गतका इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीका विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको विरोधमा युवा सङ्गठनले मशाल जुलुस निकालेको जानकारी मेची–कोसी ब्युरो संयोजक समरले दिएका छन् ।
मशाल जुलुसपछि आयोजित कोणसभामा विभिन्न जिल्लाका जिल्ला नेताले सम्बोधन गर्दै भारतीय अतिक्रमण र हस्तक्षेपको तीव्र निन्दा गर्दै आक्रोश व्यक्त गरेका थिए । समरले भने, ‘केपी–प्रचण्ड नेतृत्वको सरकारले सीमारक्षा गर्ने साहस राख्दैन भने हामी सीमारक्षाका लागि बलिदान गर्न तयार छौँ ।’ उनले भारतीय हस्तक्षेप दलाल संसदीय व्यवस्था रहुन्जेलसम्म नटुङ्गिने भएकाले आफूहरु अब चुप लागेर नबस्ने बताए । देशको सीमा अतिक्रमणका विरुद्ध नेकपा लडिरहने र जनजीविका, खाद्य सम्प्रभुता, भ्रष्टाचार, बेतिथिविरुद्ध बोलिरहने भन्दै उनले भारतीय साम्राज्यवादका विरुद्ध लड्न एकजुट हुन सबैलाई आह्वान गरे । कोरोनाको महामारीविरुद्ध सुरक्षित भएर लड्न पार्टी र जनतालाई उनले निर्देशन पनि दिएका थिए ।