भारतीय सेना प्रमुखको अभिव्यक्तिविरुद्ध देशभर पुतलादहन तथा विरोध कार्यक्रम
काठमाडाैँ, ६ जेठ । भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको आपत्तिजनक अभिव्यक्तिप्रति खेद प्रकट गर्दै अखिल (क्रान्तिकारी)ले देशभर पुतलादहन तथा विरोध कार्यक्रम गरेको छ । यसै क्रममा अखिल (क्रान्तिकारी) दाङले घोराहीमा सोमबार पुतलादहन तथा विरोध कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको आयोजनामा भएको कार्यक्रममा सङ्गठनका जिल्ला सहसचिव शरद खत्रीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षाका निम्ति अखिल (क्रान्तिकारी) जङ्गे पिलर बनेर सिमानामा बस्न सधैँ तयार रहेको बताए । उनले आवश्यक परे सीमा मिच्नेहरूविरुद्ध जुनसुकै किसिमको प्रतिरोध गर्न पनि आफूहरु तयार रहेको बताए । साथै भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको अभिव्यक्ति तत्काल सच्याउन पनि उनले आग्रह गरे । वली सरकार कोरोनाको रोकथाम, नियन्त्रण गर्नुको साटो भ्रष्टाचारमा लिप्त भएको र नेपाली भूमि मिचेर भारतले सडक बनाउँदासम्म आफूलाई थाहा थिएन भनेर पन्छिन खोजेकाले सरकार नै सीमा बेच्ने काममा अग्रसर देखिएको उनको भनाइ थियो । कार्यक्रमको सञ्चालन जिल्ला समिति सदस्य टार्जनले गरेका थिए । कार्यक्रममा भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको पुतला जलाइएको थियो ।
यस्तै अखिल (क्रान्तिकारी) रुकुमले पनि भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको आपत्तिजनक अभिव्यक्तिको विरुद्ध पुतलादहन तथा विरोध कार्यक्रम गरेको छ । अखिल (क्रान्तिकारी) रुकुमको आयोजनामा सोमबार मुसीकोटमा भारतीय सेना प्रमुख नराभनको अभिव्यक्तिको विरोध गर्दै पुतला जलाइएको रुकुमबाट प्राप्त समाचारमा उल्लेख छ ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी कैलाली, धनगढी नगर समिति र अखिल क्रान्तिकारी कैलालीले हालै भारतीय साम्राज्यवादले नेपालको भूमि मिचेर चीन जोड्ने सडकको उद्घाटन गरेकोमा साम्राज्यवादी हस्तक्षेपको घोर निन्दा एवम् भत्र्सना गर्दै साम्राज्यवादी भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने मार्ग उद्घाटन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय रक्षामन्त्री सिंहको पुतला जलाएका छन् ।
भारतले आफ्नो जमिन मिच्दासमेत भ्रष्ट, नालायक, राष्ट्रघाती वली सरकार उदासीन र लाचार बनेको विरोधमा धनगढीमा मशाल जुलुस निकालिउको समाचारमा जनाइएको छ । पुतलादशन तथा मशाल जुलुस कार्यक्रममा धनगढी नगर इन्चार्ज अनमोल र अखिल क्रान्तिकारी अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पूर्ण देशभक्त नागरिक, बुद्धिजीवी, प्राध्यापक, मजदुर, श्रमिक, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमा आग्रह गरेका थिए ।