जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष !
काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) मा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तीन जना अध्यक्ष रहने गरी नेतृत्व विवाद मिलाइएको छ । सो पार्टीका नेताहरुले आज तीन अध्यक्षसहित पाँच पदाधिकारी रहने गरी नेतृत्व विवाद टुंग्याएका हुन् ।
सो पार्टीको वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलाई पाँच सदस्यीय पदाधिकारीमा राखिने छ । अरु नेताको नाम आयोगमा पठाइए पनि पदबारे केही उल्लेख गरिने छैन । नेतृत्व विवाद मिलाएसँग जसपा नेताहरूले दल दर्ताका लागि निर्वाचन आयोग सबै प्रक्रिया पूरा गर्ने कागज पेश गर्ने छन् । बैशाख १० गते समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरणको सहमतिअनुसार आयोगमा निवेदन दर्ता गरिने सपाका नेता गंगानारायण श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले एकताका लागि सहमति गरेको शनिबार ४५ दिन पुगेको छ । दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको ४५ भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था ऐनमा रहेको छ ।