कोरोना परीक्षण प्रभावकारी बनाउन माग गर्नेहरुमाथि प्रहरीको लाठी र पानीको फोहरा !
काठमाडौं, २७ जेठ । सरकारले कोरोना भाइरसको नियन्त्रण एवं रोकथामको लागि केही नगरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका सर्बसाधारणमाथि प्रहरीले पानीको फोहरा र लाठी बर्षाएको छ । स्वत स्फुर्तरुपमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी विधिको परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने, विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्नुपर्ने माग गरेका थिए । नागरिक समाज, व्यवसायी र बिभिन्न क्षेत्रका व्यक्तिहरुसहित विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्जका साथै पानीको फोहरा समेत प्रयोग गरेको थियो । प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् । प्रदर्शनकारीले लकडाउनको औचित्य नभएको भन्दै सडकमा नै बसेर नारा समेत लगाएका थिए ।