एमसीसीबिरुद्ध उपत्यकाव्यापी पदयात्रा सुरु

२०७७ असार ७ गते, आईतवार

काठमाडौं , ७ असार । एमसीसीको विरोधमा उपत्यकाव्यापी पदयात्रा सुरु भएको छ । सात दिनसम्म चल्ने सो पदयात्रा यही असार बाह्र गते काठमाडौको बसन्तपुर पुगेर समापन हुने बताइएको छ । एमसीसीको विरोधमा राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनका लागि काठमाडौमा उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा सुरु भएको हो । नागरिक आवाज नाम दिइएको पदयात्राको उद्देश्य शान्ति, सद्भाव र सह–अस्तित्वको स्थापना गरी मुलुकलाई समृद्धितर्फ उन्मुख बनाउनु रहेको छ । सक्रिय युवाहरुको समूह रहेको अभियानले बाँडेको पर्चामा कोरोना भाइरसको संक्रमणले नागरिक आक्रान्त भइरहेको बेला सरकार भने भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइएको छ । त्यस्तै जनताले अस्वीकार गरेको भन्दै एमसीसी कुनै पनि हालतमा लागू नगर्न भनिएको छ ।
पदयात्राका सहभागीले एमसीसी हामी लिदैनौं, अमेरिकी गुलाम बन्दैनौ, आत्मनिर्भरताको विकास गर, हाम्रो उत्पादशील भूमिका संरक्षण गर, संस्कृति, सम्पदाको संरक्षण गर, सह–अस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यता माथिको आक्रमण बन्द गर, जन उत्तरदायित्व वहन गर, सबै भ्रष्टाचारीहरुलाई कारबाही गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नागरिक आवाजको सुनुवाई गर जस्ता नारा लगाउँदै काठमाडौका टोलटोल पुगेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]