एमसीसी विरुद्ध मसाल जुलुस

२०७७ असार १४ गते, आईतवार

काठमाडौँ , १४ असार । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागु हुन नहुने भन्दै मसाल जुलुस गरेको छ । शनिबार जनबर्गीय संगठनको संयुक्त आयोजनामा मसाल जुलुस गरेको नेकपा लुम्बिनी ब्युरोले बताएको छ ।
रुपन्देही– नेकपा रुपन्देहीले बुटवल नगरपालिकामा मसाल जुलुस गरेको छ । मसाल जुलुसमा नेकपा निकट जनवर्गीय संगठनहरुको सहभागिता रहेको थियो । मसाल जुलुसमा युवा संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण लगायतले बोलेका थिए । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि नेकपाले जुलुस प्रदर्शन गरेको छ । जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै जीवन र समीरमानले एमसीसी अमेरिकी सैन्य रणनीति भएको भन्दै यसलाई कुनैपनि हालतमा खारेज गर्नुपर्ने बताएका थिए । मसाल जुलुसमा एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा स्थानीय जनताको समेत सहमागिता रहेको थियो ।
पाल्पा – नेकपा पाल्पाले तिनाउ गाउँपालिकामा एमसीसी विरुद्ध मसाल जुलुस गरेको छ । मसाल जुलुसमा नेकपा पाल्पा अन्तर्गत रहेका जनवर्गीय संगठनहरुको सहभागिता रहेको थियो । मसाल जुलुसपछि दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य निशानले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले यसको विरुद्ध संघर्षको विकल्प नभएको बताए । कार्यक्रममा अमर विकले पनि बोलेका थिए ।
नवलपरासी– नेकपा नवलपरासीले सुनवल नगरपालिकामा मसाल जुलुस सम्पन्न गरेको समाचार प्राप्त भएको छ । मसाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा नवलपरासीका सेक्रेटरी अग्निपुञ्जले एमसीसी असफल पार्न देशभक्त नेपालीहरुले संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागी एकहुन जरुरी रहेको बताए । जुलुसमा नेकपा नवलपरासी अन्तर्गत जनवर्गीय संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कपिलवस्तु– नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकामा एमसीसी विरुद्ध मसाल जुलुस सम्पन्न गरेको बताएको छ । नेकपा कपिलवस्तुको स्रोत अनुसार जनबर्गीय संगठनको संयुक्त आयोजनामा गरिएको मसाल जुलुसमा एमसीसी विरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियो ।
अर्घाखाँची– नेकपा अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानहरुमा जनवर्गीय संगठनमार्फत एमसीसी विरुद्ध मसाल जुलुस सम्पन्न गरेको बताएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सितगंगा नगरपालिकाको तीन स्थानमा मसाल जुलुस सम्पन्न गरेको नेकपा अर्घाखाँचीले बताएको छ ।
गुल्मी – नेकपा गुल्मीले मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकामा मसाल जुलुस गरेको बताएको छ । जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा गुल्मीका नेता शिव पोखरेल र चन्द्र विकले एमसीसी परियोजना संसद्बाट पास गराउन लागेको भन्दै यसलाई रोक्नका लागी शसक्त संघर्ष गर्नुपर्ने बताए । जनबर्गी संगठनमार्फत् गरिएको उक्त मसाल जुलुसमा स्थानीय जनतासमेत सहभागिता भएका थिए ।
नवलपुर – नेकपा नवलपुरले मध्यविन्दुमा मसाल जुलुस सम्पन्न गरेको छ । जनवर्गीय संगठनको संयुक्त आयोजनामा सम्पन्न गरिएको मसाल जुलुसमा जिल्लाका जनवर्गीय संगठन र स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संगठनका जिल्ला अध्यक्ष अविनाशले एमसीसी कुनै पनि हालतमा संसदबाट पास हुन दिन नहुने भन्दै यसका विरुद्ध संघर्ष गर्न देशभक्त नेपालीहरु एक हुनुपर्ने बताए । उनीहरुले एमसीसी अमेरिकी सैन्य रणनीतिसित सम्बन्धित रहेको भन्दै वली र देउवा यसको मतियार भएको बताए ।
नेकपा लुम्बिनी ब्युरोले ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरुमा एमसीसी विरुद्ध संघर्ष गर्दै आएको छ । यसभन्दा अगाडी पोस्टरिङ, पर्चा वितरण, रित्तो थाली बजाउने, साहित्यिक कार्यक्रम, अन्तरक्रिया, सडकमा एमसीसीबारे छलफल अध्यापन, युवा प्रदर्शन, कोणसभा लगायत कार्यक्रम सम्पन्न गरिसकेको स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]