सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित

२०७७ श्रावण ४ गते, आईतवार


काठमाडौं । सत्ताधारी नेकपा स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजेसम्मका लागि पुनः स्थगित भएको छ । आज अपरान्ह ३ बजेका लागि तय भएको बैठक विज्ञप्ति निकाल्दै स्थगित भएको जानकारी दिइएको छ । के कारण बैठक स्थगित भएको भन्ने बारे खुलाइएको छैन् । यसअघि शनिबार बसेको पार्टीको सचिवालय बैठकले पनि विवाद समाधानको गाँठो फुकाउन सकेन । सहमतिका लागि भन्दै सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको थियो । असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुंदै आएको छ ।
यसैबीच , आज बिहान सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको बैठक बसेको छ ।बैठकमा प्रचण्ड निवास खुमालटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन् । नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेको बताइएको छ । ३ बजे बोलाइएको नेकपाको स्थायी समिति बैठक अघि दाहाल–नेपाल पक्ष बैठक बसेका हुन् । शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने दुई अध्यक्षको धारणा एउटै आएपछि सचिवालयका अन्य सदस्यहरुले यसलाई दुई अध्यक्ष मिलेको रूपमा बुझेका थिए । तर प्रचण्डको सचिवालयले भने यसलाई खण्डन गरेको थियो । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएको र सम्पूर्ण विषय छलफलकै क्रममा रहेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]