शक्तिहीन चेपाङको आँसुको मजाक उडाउँदैं वनमन्त्री शक्ति बस्नेत

काठमाडौं । चितवन माडी ९ कुसुमखोलामा चेपाङको घरमा हाती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिउनुभएको छ वनमन्त्री शक्ति बस्नेत ।
गरिब जनताको घर जलाउनेलाई छानबिन गरेर दोषीलाई कारबाही गरिनेछ भन्न पनि नसकेर यी मन्त्रीले सीधै फैसला सुनाउनुभएको छ, चेपाङको घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो ।
घर जलेको खरानी खेलाउँदै रोइरहेका जनताको आँसुलाई मन्त्रीले मजाक बनाउनुभएको छ । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकले चेपाङको घर जलाउने कृत्यलाई गैरसंवैधानिक ठहर गरेको छ । तर, बैठकमा उपस्थित वनमन्त्री बस्नेत भने घटनाकोे बचाउमा उत्रनुभएको छ । समितिले भनेको छ, हाती लगाएर घर भत्काउने कार्य गैरसंवैधानिक र गैरकानुनी हो ।
संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र वासस्थानको हकविपरित हो । विपत्को समयमा वैकल्पिक व्यवस्थाविना जनताको घरवास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ । तर वनमन्त्री बस्नेत निकुञ्जले गरेको उक्त घटनाको प्रतिरक्षामा देखिनुभएको थियो । उहाँले जनताको घरमा आगजनी नभएको दाबी गर्नुभयो ।
चितवनकै सांसद तथा समितिका सभापति कृष्णभक्त पोखरेलले पनि चेपाङमाथि अन्याय भएको भन्दा मन्त्री बस्नेतले प्रतिवाद गर्नुभएको थियो । – नयाँ पत्रिका दैनिकबाट