काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ २४ सम्म लम्बियो

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । गत भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कायम गरिएकोमा पुनः सात दिन थप गरी आज राति १२ बजे सम्मका लागि कायम गरिएको थियो । आज त्यसलाई बढाएर भदौ २४ गते राति १२ बजेसम्म कायम गरिएको छ ।
स्वाब परीक्षण गराउने व्यक्तिहरू रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरूको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।
निषेधाज्ञा थप गर्दा केही सेवालाई खुकुलो बनाइएको छ । अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दूध, फलफुल, माछामासु, तरकारी विक्री गर्ने समय बढाएर विहान ११ बजेसम्म पुर्‍याइएको छ । यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ ।
त्यस्तै व्यवसायीहरुलाई टेक अवे सेवा संचालन गर्न पनि स्वीकृति दिएको छ । यसरी व्यवसाय सञ्चालन गर्दा सेवामा रहने ब्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने मापदण्ड बनाइएको छ । होम डेलिभरीमा खटिने कर्मचारीहरुको पनि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाइएको छ ।
यस्तै ,भन्सार तिरेका गाडी र मोटरसाईकल पनि काठमाडौं उपत्यकामा ल्याउन दिइने छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कारखानाभित्रै मजदुर राख्नेगरी उद्योगधन्दा चलाउन दिने निर्णय पनि गरिएको छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाइने निर्णय पनि स्थानीय प्रशासनको छ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]