उपत्यकाका मेयरहरुद्वारा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि व्यक्त

२०७७ भाद्र १८ गते, बिहीबार


काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि जनाएको छ ।
फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी निर्माणसँग सम्बन्धित पसल– व्यवसाय खुला गरेकामा असन्तुष्टि जनाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयले उपत्यका भित्र दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल, व्यवसाय संचालन गर्न सकिने व्यवस्था गरेकामा असन्तुष्टि जनाएका हुन् ।
फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख, मदनसुन्दर श्रेष्ठ र फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले निषेधाज्ञाको खासै अर्थ र उपादेहिता नरहने तथ्यलाई ध्यानमा राख्दै अविलम्ब यसलाई सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’
अत्यावश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिने पूर्ववत व्यवस्थालाई कायम राख्दै अन्य समयमा पसल,व्यवसाय संचालनमा रोक लगाउनुपर्ने उल्लेख छ । साथै वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैं आएको अत्यावश्यक बाहेका सेवा प्रवाह २४ गतेसम्म बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकामा कोभिड १९को संक्रमण तथा मृत्युदर समेत तीब्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा निधेधाज्ञा आवश्यक भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]