सरकार नै गैरजिम्मेवार !

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एबं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको दावी गरेका छन । विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई शनिबार भेट्दै भट्टराईले सो कुरा औलाएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतलेसमेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा खेर फालेको र महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको बताए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरासमेत रहेको बताए ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकार कर्मचारीहरु कोभिड-१९ को बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा-सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् । उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिड-१९ को महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवी पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए । सरकारलाई सचेत गराउन श्रमजीवी पत्रकारुले गरेकोजस्तो मेहनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले बताए ।
कोभिड-१९ लाई बाहाना देखाउँदै जबर्जस्ती निकालिएका कर्मचारीलाई निःशर्त पुनःबहाली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जबर्जस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकारहरु आन्दोलित भएका हुन् ।