रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति !

२०७७ आश्विन २१ गते, बुधबार

काठमाडौं । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको बताएका छन । परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा लागू गर्नुपर्नेछ । व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले भने २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयको तालिम गराउन सक्ने छन् ।
यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिलासहित दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न समिति गठन गर्ने निर्णय गरिएको छ।

यसैगरी , सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालका सहसचिव डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थविज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैबीच, सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै सतर्कता अपनाउन उपत्यकावासीलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेकाले उच्च सतर्कता जरुरी रहेको बताए ।
दैनिक नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको रहेकाले अनियन्त्रित हुन नदिन सबैको सहयोग जरुरी हुने भन्दै उनले भने , ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

प्रतिक्रियाहरु

[anycomment]