प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन । ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन । रक्षा मन्त्रालय ओली आफैले राखेका छन भने कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन ।
पार्वत गुरुङलाई भने महिला बालबालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा लगिएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]