नेकपाद्वारा काठमाण्डौमा हजारौ पर्चा वितरण

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजीविकाको विषय साझा दायित्व हो भन्दै त्यसको लागि अाम समुदाय एकाकार हुन अपिल गरिएकाे पर्चा देशव्यापी वितरण गरेको छ । नेपाली राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजीविकाको विषय कुनै एक व्यक्ति वा राजनीतिक दलको सरोकारको विषय नभई सम्पूर्ण देशभक्त, प्रगतिशील नागरिकहरूको साझा दायित्व भएकाले त्यसको रक्षार्थ महत्वपूर्ण अभियानमा आआफ्नो स्थानबाट साथ, सहयोग र सहभागिताका लागि सम्पूर्ण राजनीतिक शक्ति, देशभक्त, श्रमिक, किसान, व्यवसायी, बौद्धिक व्यक्तित्वहरू र आमसमुदायमा हार्दिक अपिल गर्दै नेपाल कम्युनिट पार्टीले देशभर पर्चा वितरण गरेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको विभिन्न ठाँउमा हजारौ पर्चा बितरण गरेको छ । जिल्ला जिल्लाका सर्वसाधारण नागरिककाे हातहातमादेखि विभिन्न मन्त्रालय गेट नजिक, कार्यालय तथा विद्यालय नजिक गेट तथा चाेकचाेकमा व्यापक रूपमा पर्चा टाँस तथा वितरण गरिएकाे प्राप्त खबरमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले प्रकाशित गरेको पर्चामा कोरोना भाइरसबाट सङ्क्रमित जनताको निःशुल्क उपचार गर्न, देशभर कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्न, कालापानीबाट भारतीय सेना फिर्ता गर्न र नेपाली सार्वभौमिकताको सम्मान गर्न पनि अपिल गरेको छ ।