राज्य व्यवस्था समितिद्वारा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो । तर, बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरेको राज्य प्रणाली भएकाले सरकारले नामबारेमात्र निर्णय गरेको जिकिर गरे । मन्त्रीले स्पष्टीकरण दिइसकेपछि पनि समितिले सरकारलाई निर्देशन दिएको भन्दै समितिमा रहेका सत्तारुढ दल नेकपाका केही सांसदले भने फरक मत राखेका छन् ।