‘पार्टी एकता गम्भीर मोडमा ‘

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पोखरेलले पार्टीका प्रथम अध्यक्षविरुद्ध संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरेको उनले उल्लेख गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि ओली निकट मानिने पोखरेलको यस्तो प्रतिक्रिया आएको हो । पोखरेलले दाहालले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् । उनले अध्यक्ष दाहाललाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरि एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गरेका छन् ।