२२ राजनीतिक संगठन सरकारविरुद्ध प्रदर्शन गर्दै

२०७७ मंसिर ७ गते, आईतवार


काठमाडौं । २२ वटा पार्टी तथा राजनीतिक संगठनहरुले आज सरकारको राष्ट्रघात र जनघातका विरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शनको आयोजना गरेका छन् । सातवटै प्रदेशमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । केन्द्र तथा ३ नं. प्रदेशको काठमाडौंको माइतीघर मण्डलामा दिनको १ बजे, ४ नं. प्रदेशको पोखराको पृथीचोकमा २ बजे, ५ नंं. प्रदेशको बुटवलमा १ बजे, ६ नं. प्रदेशको सुर्खेतको मंगलगढी चोकमा १ बजे, ७ नं. प्रदेशको धनगढीमा १ बजे र १ नं. प्रदेशको उदयपुर गाइघाटमा १ बजे विरोध प्रदर्शनको आयोजना गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।
कार्यक्रम अनुसार माइतीघरको कार्यक्रमलाई देजमोका महासचिव नेता परि थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्य प्रदेशका कार्यक्रमहरुमा पनि आयोजक संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २२ राजनीतिक संगठनको कार्यगत एकताको २७ कात्तिकको बैठकले मंसिर ७ गते काठमाडौं लगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु