कांग्रेसको शालीनतालाई कमजोरी नठान्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक अपील जारी गर्दै कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने बताएका छन । उनले मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा सचेततापूर्वक सहभागि हुन आम जनमानसका नाममा एक अपील जारी गर्दै सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको बताएका छन ।
देउवाको भनाई छ – ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’
अब सडकदेखि सदनसम्म सरकारमाथि दबाब बढाउने भन्दै देउवाले भने , ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

कोरोना जस्तो महामारीको स्वास्थ्य सामग्री खरिदमासमेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै देउवाले भने , ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरुमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’
महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएकोमा उहाँले भन्नुभएको छ, ‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाले प्रश्न गरेक छन् ।
यसैगरी, सभापति देउवाले देशव्यापी प्रदर्शनमा सहभागि हुँदा कोरोना कहरलाई ख्याल गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन । देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुक र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन अपीलमार्फत् आग्रह गरेका हुन् ।
मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताए ।
सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाको भनाइ छ ।