सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गरेका छन । आज बिहान संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका हुन् । परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको आरोप लगाउँदै सभामुख सापकोटा अनुपस्थित भएको बुझिएको छ । तर सापकोटाले संवैधानिक परिषद्को बैठकमा पनि नेकपाको अंकगणित छिराएको बालुवाटार स्रोत बताउँछ ।
सत्तारुढ दलभित्रको आन्तरिक किचलोले यतीबेला सरकारका सबै निकायका काम कारवाही प्रभावित छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको इशारामा सभामुख सापकोटा परिषद् बैठकमा अनुपस्थित भएको ओली निकट नेताहरुको दाबी छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने व्यवस्था छ । अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । अहिले उपसभामुख नरहेको अवस्थामा सभामुख पनि नजाँदा गणपुरक संख्या नपुगेको हो । संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै प्रधानमनत्री ओलीले परिषद्को बैठक डाकेका थिए ।
यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि स्थगित भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु