आज धौलागिरी बन्द

२०७७ पुष ३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज धौलागिरी क्षेत्र बन्द गरेको छ । सो पार्टीले हिरासतमा रहेका म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै आज धौलागिरी क्षेत्र बन्द गरेको हो । अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएपछि नेकपाका धौलागिरी ब्यूरो प्रमुख राजनले विज्ञप्ति जारी गरेर समयमै उचित उपचार नगरिएको र बेवास्ता गरिएकाले आफ्ना नेताको मृत्यु भएकाले छानबिन गरेर दोषी पहिचान र कारबाहीको माग गरेका छन्।
पुनका आफन्तहरुले पनि प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शव बुझेका छैनन्। उपचारमा बेवास्ता गरिएकोले छानबिनको माग गर्दै मानवअधिकार आयोगमा समेत आफन्तले निवेदन दिएका छन्। पटक पटक धरौटी मागेर छाड्ने र पुनः पक्राउ गरेर हैरान बनाएको, मानसिक यातना दिएको र उपचारमा लापरबाही गरेको छोरा हिमालले गुनासो गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु