‘उखु किसानहरूको रकम तत्काल भुक्तानी गर ‘

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरूले पाउनुपर्ने रकम तत्कालै भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ । किसानहरूको रकम सरकारबाट भुक्तानी गरी उखु खरिदकर्ताबाट सो रकम उठाउन आयोगले सरकारलाई अनुरोध गरेको हो । आयोगले विज्ञप्ती प्रकाशित गर्दै किसानको रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।आयोगले किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याहरुको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गर्न सरकार र चिनी उत्पादकलाई सचेत गराएको हो । विज्ञप्तीमा सरकारको निर्देशन पालना नगर्ने र उखु किसानहरुको उखु लिई बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीहरुलाई तत्काल कानुनको दायरामा ल्याई कारबाही गर्न समेत भनिएको छ । उखुको भुक्तानिको माग गर्दै सर्लाही, रौतहट, नवलपरासी र कपिलबस्तुका किासनले मंसिर २७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन ।