अनेमसंघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फागुनमा

२०७७ पुष २० गते, सोमबार


काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीले आगामी फागुन महिनामा सातौँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको केन्द्रीय समितिको हालै सम्पन्न दशौँ पूर्ण बैठकले महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन !
वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ आगामीमा फागुन संगठनको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी बन्धु चन्दको संयोजकत्वमा ६५ सदस्यीय सातौँ राष्ट्रिय सम्मेलन तयारी समिति समेत गठन गरेको छ ।
संगठनका अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका क्रममा गिरफ्तार परी हिरासत तथा जेलमा संघर्ष गर्दै रिहाई हुनुभएका केन्द्रीय सदस्यहरु तथा देशैभरीका सम्पूर्ण साथीहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्दै हालसम्म जेल हिरासतमा बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दी साथीहरुलाई सम्मान व्यक्त गरेको थियो ।
बैठकमा संगठनका अध्यक्ष तथा महासचिवको गिरफ्तारी पश्चात संयोजनको भूमिका निर्वाह गर्नुभएकोमा तत्कालिन केन्द्रीय सचिव सविता तामाङलाई धन्यवाद ज्ञापन गर्दै सातौं राष्ट्रिय सम्मेलनको तयारीको लागि आवश्यक काम पूरा गर्न २ महिने महिला जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसमा जिल्लाहरुका भेला सम्मेलन गठन पुनर्गठन, आर्थिक संकलन, प्रचारप्रसार आदि कामहरु ठोस गरिएको बताइएको छ ।
बैठकले समाजमा महिलामाथि हुने हिंसा तथा अपराधका घटना विरुद्ध संघर्ष गर्दै बदलिदो राजनैतिक परिस्थितिमा महिला अधिकार, समानता र मुक्तिको लागि विभिन्न राजनैतिक दलका महिला तथा विभिन्न क्षेत्रमा रहेका महिलाहरुसँग भेटघाट छलफल र संयुक्त आन्दोलन गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु