पत्रकार विश्वकर्मालाई यथाशिघ्र रिहाई गर्न माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मालाई यथाशिघ्र रिहाई गर्न माग गरेको छ। महासंघका अध्यक्ष इन्द्र राउतले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष राउतले ओली नेतृत्वको वर्तमान सरकारको प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रतिगामी फासिवादी चरित्रको घोर निन्दा एवम् भत्र्सना समेत गरेका छन । उनले पौष २० गते जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, सो संगठनका उपत्यका संयोजक मानध्वज लामा सागर र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तलाई विना कारण नियन्त्रणमा लिएको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी फासिवादी चरित्र प्रदर्शनको संज्ञा दिंदै घोर विरोध एवम् भत्र्सना गरेका हुन् ।
अध्यक्ष राउतद्वारा २२ पौषमा जारी गरेको वक्तव्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले विनाकारण पत्रकारहरुलाई नियन्त्रणमा लिएर आतंकित बनाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता विरोधी राज्यको यो फासिवादी चरित्र प्रदर्शनको घोर भत्र्सना गर्दै कडा शब्दमा निन्दा गरिएको छ । वक्तव्यमा पत्रकारहरु लामा र पन्तलाई २० गते साँझ छाडिए पनि जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्मालाई प्रहरी हिरासतमै राखिएको उल्लेख गर्दै पत्रकार विश्वकर्मालाई विना शर्त यथाशिघ्र रिहाई गर्न जोडदार माग गरिएको छ । साथै, पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व बोकेको राज्य प्रशासनबाटै यसरी प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न समेत माग गरिएको छ ।
वक्तव्यको अन्तमा भनिएको छ, “मुलुकमा प्रतिगामी फासिवादी शासनले टाउँको उठाउँदै गएको वर्तमान स्थितिमा सिंगो प्रेस जगत, त्यसमा पनि जनपक्षीय मिडिया र पत्रकारहरु अझ बढी राज्यको प्रहारको निशानामा पर्दै गएका छन् र आगामी दिनमा यो क्रम अझ बढेर जाने देखिएको छ । राज्यको यस्तो निरंकुश तथा फासिवादी कदमको विरोध एवम् प्रतिरोधमा एकताबद्ध भएर आवाज उठाउन र आन्दोलित बन्न हाम्रो संगठन सम्बन्धित सबैमा हार्दिक आव्हान समेत गर्दछ ।”