संसदीय व्यवस्थाको कुरुपता सम्बन्धि कार्टुन प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश र सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा संसदीय व्यवस्था, संसदवादी राजनीतिक दल तथा तिनका नेताहरुको कुरुपता झल्कने कार्टुनहरुको प्रदर्शनी गरिएको छ । बिहिबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरिएका सयौं कार्टुनहरुमा संसदीय व्यवस्था कति कुरुप र घिनलाग्दो छ, कति जनघाती र राष्ट्रघाती छ, कति गैरजिम्मेवार र निकम्मा छ भन्ने यथार्थ चित्रण गरिएको छ । विशेष गरी केपी शर्मा ओली सत्तासिन भएपछि यता विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कार्टुनहरुलाई प्रदर्शन गरिएको थियो ।
कार्टुन प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कार्टुनहरुले नै संसदीय व्यवस्था, संसदवादी दलहरु, तिनका नेताहरुको कुरुप अनुहारहरु चित्रण गरेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसदलाई पुनस्र्थापित गर्ने भन्दा पनि अग्रगामी राजनीतिक निकासको रुपमा अब संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गर्नुपर्ने बताए । उनले भने – “तीन बर्षको ओलीको सत्ता अभ्यासले प्रष्ट पारिसकेको छ कि लोकतान्त्रिक गणतन्त्र रुपी संसदीय व्यवस्था जनताको व्यवस्था होइन, यो त साम्राज्यवादी, विस्तारवादी र तिनका दलालहरुको स्वार्थ रक्षा गर्ने व्यवस्था हो । जनताको व्यवस्था भनेको संघीय जनगणतन्त्र हो । लोकतान्त्रिक गणतन्त्रको विकल्प नै संघीय जनगणतन्त्र हो ।”
ओलीले भनेजस्तो संसदको निर्वाचन गरेर वा प्रचण्ड–नेपालहरु लगायत संसदवादी पार्टीहरुले भनेजस्तो संसदको पुनस्र्थापना गरेर मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरु समाधान नहुने दाबी गर्दै अध्यक्ष गजुरेलले अब संघीय जनगणतन्त्रको विकल्प नरहेको ठोकुवा गरे । नागरिक अगुवाहरुको आन्दोलनमाथि दमन गरेर ओलीले आफ्नो फासिवादी अनुहारको प्रदर्शन गरेको भन्दै उनले ओलीको फासिवादका विरुद्ध सम्पूर्ण न्यायप्रेमी र परिवर्तनप्रेमी जनता एकताबद्ध भएर संघीय जनगणतन्त्र स्थापनाको आन्दोलन वा संघर्षमा उत्रनुपर्ने बेला आएको बताए ।
कार्टुन प्रदर्शनी कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य सुरेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा पार्टीका पीवीएमहरु इन्द्रमोहन सिग्देल, दिनेश शर्मा सागर, पवनमान श्रेष्ठ लगायतका नेताहरु समेतको उपस्थिति रहेको थियो ।