भागिरथीको हत्यारालाई कारवाही गर्न चौतर्फी दवाब

२०७७ माघ २७ गते, मंगलवार


काठमाडौं । बैतडीकी भागिरथी भट्टको हत्यारालाई कडा कारवाहीको माग गर्दै बिभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । यसैक्रममा अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीले बैतडीकी भागिरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विषयमा दोषीलाई सार्वजनिकसहित कडा कारवाहीको माग गर्दै कैलालीको लम्किचुहामा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य बिनिताले सामाजिक सुरक्षाको दायित्व राज्यको भएको तर राज्य यस्ता जघन्य अपराधको मुखदर्शक भएकाले अब महिला मुक्तिको आन्दोलनमा महिला नै सडकमा आउनुपर्ने बताइन् । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष सृष्टिले गरेका थिइन् ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कञ्चनपुरले बैतडीकी १७ वर्षीय छात्रा भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रदर्शन गरेको छ । संगठनका केन्द्रिय सदस्य सृष्टिको नेतृत्वमा कञ्चनपुरको कृष्णपुरमा विरोध प्रदर्शन गरिएको हो । अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक सामनाको अध्यक्षतामा सहभागी करिब १०० जना महिलाको बीचमा भएको कार्यक्रमको सञ्चालन कमलाले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता संगठनका केन्द्रिय सदस्य सृष्टिले बैतडी जिल्ला दोगडाकेदार न.पा. ७ चडेपानी निवासी सिर्कोट स्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत १७ वर्षीय छात्रा भागिरथी भट्टको बलात्कार गरी हत्या भएको घटनाप्रति महिला संघ क्रान्तिकारीको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । साथै अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानबिन गरी घटनामा संग्लग्न जो सुकैलाई पनि कडा भन्दा कडा कारबाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छिन् । जिल्ला संयोजक सामानाले दुई वर्ष अघि भएको निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाई कारबाही गर्न सरकार असफल भएका कारण पनि यस्ता घटना मौलाउँदै गएको देखिएको बताइन् । यस्ता अपराधिक घटना नियन्त्रण गर्न, आवश्यक अनुसन्धानका लागि सबै पक्षसँग सहकार्य गर्न तयार भएको र जबसम्म यो दलाल संसदीय व्यवस्था रहिरहन्छ तबसम्म यस्ता घटना भइरहने टिप्पणी समेत गरिन् । अब सबै किसिमका समस्यालाई दीर्घायु हल दिनका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा एकताबद्ध हुन सम्पूर्ण महिला न्यायप्रेमीलाई आग्रह समेत गरिन् ।
सरकारले अनुसन्धान कार्यलाई गम्भीरतापूर्वक नलिई घटनाप्रति नजरअन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार्य नहुने समेत उनले बताएकी छिन् । कञ्चनपुरको कृष्णपुर बनराबाट सुरु भएको र्याली बैंक बजारमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो ।
यसैगरी , बैतडीमा भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा पाल्पामा विरोध कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी पाल्पाद्धारा तिनाउ गाउँपालिकामा आयोजित कार्यक्रममा दलित मुक्ति मोर्चा नेपाल पाल्पाका अध्यक्ष निशान विकले घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कडा कारवाही गर्नुपर्ने बताए । अनेमसंघ क्रान्तिकारी पाल्पाका संयोजक कृष्णा थापाले निर्मला पन्तलगायत हत्याका दोषीहरूलाई कारवाही गर्नुको सट्टा केपी सरकारले नै बलात्कारी र हत्याराको संरक्षण गर्दै आएकोले यो सरकार र व्यवस्थाकै विकल्प खोज्नुपर्ने बताइन् । नेकपाका विभिन्न जनवर्गीय संगठनहरुले भट्टको हत्याविरुद्ध देशभर विरोध प्रदर्शन र कोणसभाहरु गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु