‘सम्पूर्ण क्रान्तिकारीहरु गोलबन्द होऊ’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गरेका छन। महासचिव किरणले महान जनयुद्धको २६ औं जनयुद्ध दिवसको उपलक्ष्यमा वक्तव्य जारी गर्दै सो आह्वान गरेका हुन् । वक्तव्यमा नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ । साथै, यस अवसरमा नेपाली जनताले देखाएको त्याग, वीरता तथा बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दै सहिद एवम् बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाइचारा पार्टीहरु तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन व्यक्त गरिएको छ ।
वक्तव्यमा सम्पूर्ण छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द हुन आव्हान गर्दै भनिएको छ, “आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । हाम्रो पार्टी आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।”
