कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२०७७ फाल्गुन ५ गते, बुधबार


काठमाडौं । १४ औं महाधिवेशनबारे नयाँ मितिबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ । आगामी सात गतेदेखि शुरु हुनुपर्ने महाधिवेशन हुने सम्भावना सकिए पनि अझैं कांग्रेसले महाधिवेशनकाे नयाँ मिति तय गर्न सकेकाे छैन । फागुन मसान्त भित्र नेपाली कांग्रेसकाे महाधिवेशन नसकिए संविधानले दिएकाे ६ महिने प्रावधान अनुसार भदाैसम्म म्याद थप गर्न सकिन्छ । भदाै उता पनि महाधिवेशन भएन भने कांग्रेसकाे वैधानिकता सकिने भएकाले वुधबारकाे बैठकमा महाधिवेशनकाे मिति ताेक्ने गरि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने उनले बताए । कांग्रेसमा रहेका गुट अनुसार पनि अहिले महाधिवेशनकाे मिति ताेक्ने या नताेक्ने भन्नेमा विवाद रहेकाे छ । संस्थापन पक्ष अदालतकाे निर्णयपछि मात्रै मिति ताेक्नु पर्ने बताउँदै आएकाे छ भने रामचन्द्र पाैडेल पक्ष भने महाधिवेशनकाे मिति ताेकेर अघि बढ्नु पर्ने पक्षमा अडिग रहेकाे छ ।
बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु