अधिनायकवाद लाद्ने गुरुयोजना असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नामसँग सम्बन्धित पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्ती रुपमा दर्ता गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सर्वोच्च अदालतले खारेज गरिदिएको बताए । सर्वोच्चले आफ्नो पक्षमा फैसला गरेपछि मंगलबार एक विज्ञप्ती जारी गर्दै कट्टेलले भने, ‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैँले बनाएको संविधान र कानुन विपरित निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए। संसद वादी पूँजीवादमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ।’
समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको उनले बताएका छन्। पार्टीको साख वृद्धि गर्नुका साथै नीति, बिचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको उनले दाबी गरेका छन्।
‘कमरेड पुष्पलालले २००६ सालमा स्थापना गर्नु भएको, २०२५ सालमा पहिलो पुनर्गठन गर्नुभएको र २०६९ सालमा दोश्रो पुनर्गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनमाथि यी दुई उग्रवाद, दक्षिणपन्थी अतिवादी कोण र मध्यपन्थी छद्म क्रान्तिकारी अवसरवादबाट पारिएका भ्रमहरूलाई चिर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै संयुक्त जनआन्दोलन, जनविद्रोह र बल प्रयोगको समायोजनबाट वर्तमान सामन्ती दलाल नोकरशाही पूँजीवादी राज्यसत्तालाई विस्थापित गरी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न निरन्तर संघर्ष गरिरहेको छ’ उनले भनेका छन्। अदालतको फैसलासम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यावाद समेत ज्ञापन गरेका छन्।
