एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज अपरान्ह तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ। बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना कसरी राख्ने, र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने निश्चित छैन ।वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले यसअघि बालुवाटारमा संसदीय दलको बैठक बोलाएको भन्दै बहिष्कार गरेको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल- खनाल पक्षले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।