‘जनयुद्धका नेताहरुले क्रान्तिको मार्ग बिर्सिएकाले सहिद, वेपत्ताका सपनाहरु अलपत्र’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जनयुद्धका नेताहरुले क्रान्तिको मार्ग बिर्सिएको कारण सबै सहिद, वेपत्ताका सपनाहरु अलपत्र परेको ठोकुवा गरेका छन । नेता बास्तोलाले जनक्रान्तिका महान् सहिद परिवार संगठन, नेपाल केन्द्रीय समिति र राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा शुक्रबार ‘सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् ।
वर्तमान देशको राजनीतिक बिचलन, बेतिथि, विसङ्गति हुनुमा सहिदका सपना पूरा नहुनु रहेको भन्दै नेता बास्तोलाले भने, ‘अब नयाँ युगको सुरुवात गर्दै समाजमा भएको खराब प्रवृत्तिका बिरुद्ध लड्न नयाँ पालुवा पलाए जस्तै नयाँ बिचार, नयाँ नीति लिएर अघि बढ्न एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि आएको छ ।’
सहिद वेपत्ताले देखेको सपनालाई धोका दिने दिशा तर्फ नेतृत्व पुगेको देखेर नै आफुहरु प्रचण्डहरूसँग अलग्गिन पुगेको भन्दै नेता बास्तोलाले सहिद वेपता योद्धाहरूको सपना पूरा नभएसम्म निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा वेपत्ता योद्धा सोमबहादुर विककी बहिनी सोम माया विकले सहिद तथा वेपत्ता नागरिकको अवमूल्यन गर्ने छुट कसैलाई नभएको साथै सम्पूर्ण सहिद वेपत्ताका परिवारजनहरु एकजुट हुनुपर्ने बताइन् ।
कार्यक्रममा नेकपाकी गण्डक व्युरो इन्चार्ज उमा भुजेल, केन्द्रीय सदस्य सावित्रा दुरा, इन्सेक गण्डकका अध्यक्ष शिव खकुरेल, वरिष्ठ अधिवक्ता तिलक पराजुली, नेपाली काँङ्ग्रेसका प्रतिनिधि पोषनाथ शर्मा, जनता समाजवादी पार्टीका गण्डक संयोजक किरण थापा, नेकपा एमालेका शिवबहादुर बराल लगायत सहिद वेपत्ता परिवारको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सहिद परिवार संगठन नेपालकी अध्यक्ष खुमा सुवेदीले गरेकी थिइन् ।
कार्यक्रममा वेपत्ता योद्धा समाजको संगठन पनि गठन गरिएको छ । संयोजक सुदीप भट्टराई रहने गरी गठन गरिएको उक्त समितिमा वेपत्ता योद्धा समाज कास्की संयोजक ओम कुमारी विक, तनहुँ संयोजक रामबहादुर सिंह, गोर्खा संयोजक मुक्ति ढकाल रहेका छन् भने सहिद परिवार संगठनमा लमजुङ प्रमुख बिन्दु पौडेल, गोर्खा प्रमुख मुक्ति ढकाल, कास्की प्रमुख देवि बास्तोला र स्याङ्जा प्रमुख नारायण रहने गरी सकुन्तला पौडेल सदस्यसहित गण्डक अन्तरगत ७ सदस्यीय कमिटी गठन भएको छ ।