युवा सङ्गठन दाङको अध्यक्षमा तुलसी चौधरी

२०७८ बैशाख १३ गते, सोमबार


काठमाडौं । युवा सङ्गठन नेपाल दाङको चौथो सम्मेलनले तुलसी चौधरीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा जीवनी चौधरी, सचिवमा सुदर्शन विक, सहसचिवमा अजय दुलाल र कोषाध्यक्षमा दीपेद्र ओली निर्वाचित भएका छन् । सम्मेलनमा ‘राष्ट्रियता, सार्वभौम सत्ता र स्वतन्त्रताका पक्षमा सङ्घर्ष गरौँ, भ्रष्टाचार निर्मूल समाजका लागि चौथो जिल्ला सम्मेलन भव्य रूपले सफल पारौँ’ भन्ने मूल नारा तय गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा सङ्गठन नेपाल केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक पाटनले संसदीय व्यवस्था चरम सङ्कटमा पुगेर असफल भइसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले निर्विकल्प वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा एकीकृत जनक्रान्ति अघि बढाइरहेको बताए । उनले विद्यमान सत्ता साम्राज्यवादी शक्तिको आडमा टिकेको पनि प्रस्ट पारे ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा दाङका जिल्ला इन्चार्ज प्रदीप वलीले दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट आम श्रमिक वर्गको मुक्ति सम्भव नभएको बताए । उनले अर्को सन्दर्भमा भने, ‘तीनबुँदे सहमति गर्दा पार्टी सक्कियो, झुक्यो भन्ने भ्रम फिँलाउनेहरू क्रान्तिविरोधी हुन् ।’ उनले अब जनताले व्यक्ति छान्ने भन्दा व्यवस्था छान्ने कुरामा आफू विस्वस्त रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीले पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भनेर जनमतसङ्ग्रहको माग गरेको छ । जनता सधैँ अग्रगमनका पक्षमा हुन्छन, त्यसैले हामी जित्छौँ ।’
कार्यक्रममा विशिष्ट अतिथि नेकपा दाङका सेक्रेटरी गणेश चौधरी, युवा सङ्गठन नेपाल नारायणी ब्युरो इन्चार्ज वीरेन्द्र, नेकपा नारायणी ब्युरो सदस्य विकास, जनपत्रकार सङ्गठन नेपाल दाङका संयोजक हेमन्तप्रकाश वली, राप्ती स्कुलिङ विभागका रुद्र वली, सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ राप्ती ब्युरो संयोजक डिल्ली वली, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का, व्यापार सङ्गठनका केन्द्रीय सदस्य भद्र वली, अखिल नेपाल शिक्षक सङ्गठन दाङका अध्यक्ष डिल्ली डीसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङका अध्यक्ष सञ्जय वली, कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष नरबहादुर रोका, सहिद परिवार दाङ जिल्ला अध्यक्ष बलबहादुर वली, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल चौधरी, नेकपा लमही नगर सेक्रेटरी निमबहादुर डाँगी, नेकपा दंगिशरणका सेक्रेटरी रोदन, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसूदन, नेकपा जिल्ला सदस्य महान, जनकलगायत अतिथि थिए ।
कार्यक्रममा युवा सङ्गठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य तुलसी चौधरीले स्वागत र जीवनी चौधरीले सञ्चालन गरेका थिए । युवा सङ्गठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिका संयोजक मनोजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जिल्ला समितिलाई पार्टीका जिल्ला सदस्य जनकले बधाई दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]