‘कृषि उपजको सहज रूपमा बिक्रीवितरणको व्यवस्था मिलाउ’

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले कृषि उपजको सहज रूपमा बिक्रीवितरणको व्यवस्था मिलाउन माग गरेको छ । महासङ्घको सचिवालय भर्चुअल बैठकले किसानको उत्पादन सरकारले खरिद गरी बजारको व्यवस्था मिलाउनुपर्ने माग समेत गरेको छ । यस्तै किसानलाई मल, बिउ, औषधी, दाना, सिँचाइ, बजार व्यवस्थापन र अनुदान सर्वसुलभ र सहज ढङ्गले मिलाउन पनि महासङ्घले माग गरेको छ ।
अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महासङ्घको बैठकले कोरोनाका कारण तेस्रो पूर्ण बैठक र घटक सङ्घहरूको राष्ट्रिय भेला पनि भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ । बैठकले कोरोना महामारीका कारण जनताको जीवनस्तर निकै भयावह बनेको बेला सरकार भने आफ्नो सत्ता बचाउने कार्यमा तल्लीन रहेको निष्कर्ष निकालेको छ ।