काठमाडौ उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले काठमाडौ उपत्यकाको जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैठकले जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने छ। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।
विकास निर्माण कार्यका हकमा सिमित कामदार राखेर काम गर्न दिने निर्णय गरेको तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। बैठकले यातायातमा पुरानै नियम यथावत् राखेको छ । निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।
यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।