जसपाको कार्यकारिणी समितिमा ठाकुरकाे बाहुल्यता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिमा महन्थ ठाकुरकाे बाहुल्यता देखिएको छ । महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको जानकारी निर्वाचन आयोगलाई असार १ गते गराइ सकेको छ भने उपेन्द्र यादव समूहले पनि आफू आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। अहिले जसपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ। यसअघि एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई आयोगले मान्यता दिएको थिएन। दोस्रो पटक नेताहरू काराबाहीको व्यहोरा र थप निर्णयको प्रतिलिपिसहित आयोग पुगेका हुन्।
शुक्रबार यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरसमेतका कागजात बुझाएर आधिकारिकता दाबी गरेको छ। ठाकुर पक्षले असार १ गते नै आयोगमा आधिकारिकताका लागि कार्यकारिणी समिति हेरफेर गरेकोलगायत कागजात गरेर दाबी गरेको छ। ठाकुर पक्षले आधिकारिकताका लागि दर्ता गराएको निवेदनमा केन्द्रीय कार्यकारिणी समिति हेरफेर भएको व्यहोरा आयोगमा बुझाएको छ। जेठ ३ गतेको बैठकले समिति हेरफेर गरिएको ठाकुर पक्षको निवेदनमा उल्लेख गरिएको छ। निवेदनमा भनिएको छ, ‘२०७८ जेठ ३ गते जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति देहायबमोजिम हेरफेर तथा पुनर्गठन भएको व्यहोरा अनुसूची–१८ अनुसार अद्यावधिकका लागि पठाइएको छ।’
पार्टीको २०७८ जेठ ६ गते, २०७८ जेठ ११ गते र २०७८ जेठ १८ गते बसेको बैठकको माइन्युटहरूको प्रमाणित प्रतिलिपिसमेत ठाकुर पक्षले आयोगमा बुझाएको छ। गत बुधबार अध्यक्ष महन्थ ठाकुरले पूर्व राजपाका ६ र पूर्व समाजवादी पार्टीका १४ जनालाई कार्यकारिणी सदस्यबाट निष्काशित गरी आफू निकट मानिने २० जनालाई मनोनित गरे। जसलाई उपेन्द्र यादव समूहले अवैधानिक भनेको छ। तर ठाकुर पक्षले भने आफूमा रहेको अधिकार प्रयोग गर्दै २० जना कार्यकारिणी सदस्य नियुक्त गरेको जानकारी निर्वाचन आयोगमा गराएको छ। असार १ गते ठाकुर पक्षले कार्यकारिणी समितिको बैठकको निर्णयको प्रतिलिपि निर्वाचन आयोगमा बुझाएको हो।
जसपा स्रोतका अनुसार उपेन्द्र यादवकै सहमतिमा पुस सातमा बसेको कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको थियो। अहिले आएर त्यसको अधिकार ठाकुरले प्रयोग गर्दै कार्यकारिणीमा २० जना सदस्य नियुक्त गरेका हुन्। २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनगर्ठन गर्ने अधिकार पार्टीको पहिलो वरियाताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको थियो । सोही दिनको बैठकले बैठकबाट भएका निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचार लागि पहिलो वरियताको अध्यक्षलाई दिने निर्णय गरेको थियो।
ठाकुर पक्षले आयोगमा पठाएको पुस ७ गते गरिएको भनिएको निर्णयमा भनिएको छ, ‘अब उपरान्त केन्द्रीय कार्यकारिणी समितिको बैठक दुवै जना अध्यक्षले सहमतिमा बोलाउन सक्नेछन् । बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ।’ साेही अधिकार प्रयाेग गर्दै अध्यक्ष ठाकुरले ५१ सदस्य रहेको कार्यकारिणी समितिमा ठूलो हेरफेर गरेका छन्। प्रष्ट रूपमा उनी अल्पमतमा परेपछि २० जनालाई समितिबाट हटाएका छन्।
जसमा पूर्व–समाजवादी पार्टीका १४ र पूर्व–राजपाका ६ जना रहेका छन्। ती सबै नेता अहिले यादव पक्षमा रहेका छन्। ३ असारमा निर्णय गर्दै आफ्नो पक्षका थप २० जनालाई समितिमा राखिएको छ। जसका कारण कार्यकारिणी समितिमा ठाकुर पक्ष बहुमतमा पुगेका छ।