‘माधव नेपाललाई एमालेमा कुनै स्थान छैन’

२०७८ असार ३० गते, बुधबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै अब एमालेमा उनको कुनै स्थान नभएको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
ओलीले भने – ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’
आफ्नो सरकार ढाल्न नेपालले नै अगुवाइ गरेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको शपथका समयमा नेपाल राष्ट्रपति कार्यालय गएकामा आपत्ति जनाउँदै भने , ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’
बालकोटस्थित आफ्नै घरको बार्दलीबाट समर्थकहरुलाई सम्बोधनका क्रममा नेपालविरुद्ध आक्रोश व्यक्त गर्ने ओलीले नेपाल लाजशरम पचेको मान्छे भएको बताए । उनले पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालले सरकार ढाल्ने खेलमा अगुवाइ गरेको आरोप लगाउदै अदालतमा निवेदन हालेर सँधै परमादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी समेत दिए । उनले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप प्रधानमन्त्री छानेर जात्रा देखाएको जिकिर गरे ।
ओली बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट जाँदा एमाले कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका थिए । एमालेको भ्रातृ संगठन युथ फोर्सले ओलीलाई बालुवाटारदेखि स्कर्टिङ गरी बालकोटसम्म पुर्‍याएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]