प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत लिने तयारी

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुुर देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन ।
संविधानको धारा ७६ को ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिन लागेको संसद सचिवालयले जानकारी दिएको छ । सभामुख अग्नीप्रसाद सापकोटालाई विश्वासको मत लिने सम्बन्धनमा सरकारले जानकारी गराइसकेको छ ।
विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गरिसकेको छ । सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन । देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १ सय ४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन । विश्वासको मत पाउन नसकेमा देउवा कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन । विश्वासको मत लिन असफल भए देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल नियमित सरकारको नेतृत्व गर्न पाउनेछन । प्रतिनिधि सभाको अव डेढबर्ष कार्यकाल बाँकी रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]