बाँस्तोलाद्वारा संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा गरेका छन । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता बास्तोलाले संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको जिकिर गर्दै प्रधानमन्त्री हुनका लागि संसदीय चुनाव जित्नुपर्ने, आफ्नो पक्षमा पर्याप्त सांसद हुनुपर्ने र आफ्नै पार्टीभित्रको प्रतिस्पर्धीलाई पाखा लगाउन पैसा खर्च गर्नुपर्ने ठोकुवा गरेका हुन् । उनले वर्षभरिको देशमा खर्च हुने बजेटको आधा रकम निर्वाचनका लागि खर्च हुने उल्लेख गरे । निर्वाचन प्रणालीका लागि अरबौं रुपैयाँ खर्च हुने बताउँदै यसले नै भष्टाचार गर्ने प्रणालीलाई मलजल गरेको बताए ।
उनले सबै राजनीतिक दलका नेताहरुसँग आफ्नो दलले छलफल गरेको भन्दै सबैको चिन्ता देश नबनेकोमा रहेपनि किन देश अघि बढ्ने भन्नेमा सबै घोत्लिन नसकेको बताए । उनले नेपालका संसदीय व्यवस्थाका कारण देश अघि बढ्न नसकेको बताउदै राज्यसत्ता र प्रणाली दलाल पुँजीपतिको हातमा पुगेको उल्लेख गरे ।
उनले नेपालको अहिलेको राजनीतिक व्यवस्था नै भष्टाचार गर्ने रहेको बताउँदै यसलाई तोड्न आवश्यक रहेको र सबै राजनीतिक दलका नेताहरुलाई दलाल संसदीय व्यवस्थाको अन्त गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि अघि बढ्न आग्रहसमेत गरे ।