‘ व्यक्ति होइन व्यवस्था छान्ने चुनावको लागि तयार छौं ‘

२०७८ श्रावण १५ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले नेकपा व्यक्ति होइन व्यवस्था छान्ने चुनावको लागि तयार भएको बताएका छन । नेता शितलले नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको विपन्न तथा अल्पसंख्यक समुदायका कुमाल परिवारलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। नेकपा दाङले शान्तिनगर ३ गाहाटोल निवासी १०२ वार्षिय नैनिकली कुमाल र उनका छोरा ६७ वार्षिय दल बहादुर कुमालको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै १ महिना अघि घर निर्माण कार्यको थालनी गरेको थियो । सोही घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शिताल्ले संसदीय व्यवस्था जनता र राष्ट्रका विरुद्धमा भएकाले यसलाई भंग गर्नुपर्ने ठोकुवा गर्दै प्रगतिशील संयुक्त सरकार गठन गरेर वैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भनेर व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुको विकल्प नरहेको बताए । नेता शितलले संसदवादी जाली फटाहाहरुले आफुहरुलाई चुनावमा जान सक्दैनन्, जित्दैनन् भनेर अफवाह फैलाउने गरेको भन्दै अगाडी भने, –‘व्यवस्था छान्न एकपटक जनतालाई अधिकार दिऊ, हामी व्यक्ति, पार्टी छान्ने चुनावमा होइन एकपटक व्यवस्था छान्ने चुनावको लागि तयार छौं ।’
नेता शितलले वैज्ञानिक समाजवादको प्रारम्भिक अभ्यास अन्तर्गत जिल्ला स्थित विभिन्न ठाउँमा गरिब, असहाय, विपन्न परिवारको घर निर्माण गर्न लागिएको पनि बताए । घर निर्माण कार्य स्थानीय व्यापारी, समाजसेवीहरुको आर्थिक, जिन्सी सहयोग र नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ता लगायत स्थानीयहरुको जनश्रमदानसहित कूल ३६६९२७ (तीन लाख छैसठ्ठी हजार नौँ सय सत्ताइस) लागतमा सम्पन्न गरिएको बताइएको छ । आर्थिक, जिन्सी सहयोग गर्ने समाजसेवी, व्यापारीहरु, बुद्धिजीवि, स्थानीय अगुवाहरुलाई घर हस्तान्तरण कार्यक्रममा नेकपा दाङले सम्मान पत्रसहित सम्मान गरेको थियो ।
घर हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै स्थानीय युवा हरिषचन्द्र राणाले जनताले नेपाल कम्युनिस्ट पार्टीले गरेको सह्रानीय कामको उच्च प्रशंसा गरे । उनले प्रतिबन्धमा जनतामा अनेक आशंका थिए तर अहिले पार्टीको कामले जनता उत्साहित भएको बताए ।
कार्यक्रममा घर निर्माण कार्यमा सहयोग गर्ने समाजसेवी,उधोगी,व्यापारिहरुलाई बधाई मन्तव्य राख्दै युवा नेता बिरेन्द्रले आफुहरु आवश्यक्तामा कलम बोक्न सक्ने,परिस्थितिले माग गरे बन्दुक र गरिव,असहाय,अति विपन्नलाइ सहयोग गर्ने बेला निर्माणका औजारहरु बोक्ने अदम्य साहास भएका युवाहरु भएको बताए।
घर हस्तान्तरण कार्यक्रममा नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मल,लमहि नगर इन्चार्ज जनक,नेकपा दाङ जिल्ला उत्पादन बिभाग सदस्य बिजयको आतिथ्य रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए भने कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा महानको परिवारसँग भेटघाट अन्तरक्रिया गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा बबई गाउँपालिका इन्चार्ज प्रतिरोध, नेकपा दाङ जिल्ला सदस्य राजकुमार, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर लगायत पार्टीका स्थानीय नेताकार्यकर्ता र सहिद परिवार बिच अन्तरक्रिया कार्यक्रम भएको हो । शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा सहिद परिवारले पार्टीको आह्वानमा सहिद हुने महान सहिदहरुको उच्च बलिदानको सम्मान गरिरहनुपर्ने बताएका थिए । कार्यक्रममा सहिद परिवार, स्थानीय बासिन्दाले जनयुद्धका सहिद परिवारलाई प्रचण्ड बाबुरामहरुले चटक्कै भुलेको, महान लक्ष्य र उदेश्यबाट भागेको जस्तो नगर्न नेताहरुलाइ सुझाव दिएका थिए ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा उच्च सहादत प्राप्त गर्ने सहिदहरुलाई पार्टीले उच्च सम्मान गर्ने बताए । इन्चार्ज शितलले सहिदहरु जुन उदेश्य, लक्ष्य प्राप्तिको लागि बलिदान गर्नुभयो त्यो लक्ष्य, उदेश्य प्राप्तिको लागि आफुहरु खरानी हुन तयार भएको तर झुकेर सम्झौता नगर्ने बताए । उनले भने, –‘कमरेडहरुले वैज्ञानिक समाजवाद प्राप्तिको लागि बलिदान दिनुभयो, वैज्ञानिक समाजवाद प्राप्तिका लागि हामी पनि सहिद बन्न तयार छौं ।’ इन्चार्ज शितलले पार्टीले सहिद परिवारको सबै व्यस्थापन गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार सहिद परिवारलाई रु. २५००० (पच्चीस हजार) नगद प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]