नेपाल कम्युनिस्ट पार्टीद्वारा दार्चुला घटनाको विरोधमा देशव्यापी प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका ३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा शनिबार अपरान्ह देशव्यापीरुपमा बिरोध प्रदर्शन गरेका छन । यसैक्रममा काठमाडौंको शान्तिबाटिकाबाट शुरु भएको र्याली विभिन्न ठाउँमा प्रदर्शन गर्दै अन्तमा सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीपछिको कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले संबोधन गर्दै भारतले नेपाल र नेपालीविरुद्ध विगतदेखि नै यस किसिमको ज्यादती गर्दै आएको उल्लेख गर्दै जयसिँह धामीको घटना पनि त्यसैको उपज भएको ठोकुवा गरेका छन । उनीहरुले तुईन घटनाको वास्तविक छानविन र दोषीमाथि कडा कारवाही गरि पिडीतलाई न्याय दिनु पर्ने बताउदै भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रने र आम नेपाली जनतालाई उक्त संघर्षमा साथ् र सहयोग गर्न आग्रह समेत गरेका थिए ।