धामीको हत्यामा सरकार नतमस्तक बन्नु निन्दनीय

२०७८ श्रावण १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज नयनले जयसिंह धामीको अमानवीय हत्याको घोरनिन्दा र भर्त्सना गर्दै आफ्नो देशको नागरिक जयसिंह धामीले आफ्नै आगनमा विदेशीको हातबाट ज्यान गुमाइरहँदा पनि नेपाल सरकार नतमस्तक भएर बसिरहेको विषय प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको उपमहानगरपालिका हेटाैंडामा भारतीय सुरक्षा बल (SSB) ले तुईन काटी गरेको जयसिंह धामीको अमानवीय हत्या विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले सो असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले अब नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गर्नुका साथै आम नेपाली जनता र स्वाधीन राष्ट्रको स्वतन्त्रता बचाइराख्न आवश्यक कदम चाल्नुपर्ने र विदेशीको इसारामा नाच्न बन्द गर्नुपर्ने बताउदै यो दलाल संसदीय व्यवस्था र यसका पूजारी जनले देश र जनताको माग, मुद्धा र एजेण्डाको सम्बोधन नगर्ने भएकाले नेपाल कम्युनिस्ट पार्टीले यसको विकल्प वैज्ञानिक समाजवाद इंकित गरेको बताए। चौतर्फी दृष्टिकोणले असफल सिद्ध भएको संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आम नेपाली जनता एकचोटी भए जनमतसंग्रहमा जानुपर्ने नभए एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द हुनुपर्ने कुरा विरोध सभा कार्यक्रम मार्फत नै अघि सारेका छन्।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुरका सेक्रेटरी वाटरले उक्त घटनाको न्यायोचित छानविन गरी पीडित पक्षलाई न्याय दिनुका साथै ज्यान गुमाएका जयसिंह धामीलाई सहिद घोषणा गर्न र पीडक पक्ष अपराधीलाई कडा कारबाही गर्न सरकार समक्ष दमदार माग गरेका छन्। यदि उक्त मागको समयमै उचित सम्बोधन नगरे आम नागरिक र राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त सडक संघर्षलाई अझ सशक्त ढंगले अघि सार्ने उद्घोष पनि गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य नयनको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी वाटरको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य तथा हेटौँडा उपमहानगरपालिका सेक्रेटरी सुर्य अर्यालले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]